Monday, December 28, 2009

हत्केलाको कथा

सुन!
आज म एउटा कथा भन्छु,
एकादेशमा
भाग्यको रेखापारि
एउटा हत्केला थियो,
त्यहि हत्केला हेरि हेरि
धेरै आँखाहरुले भविष्य बताए
कंयौले भूत कथे
कतिले वर्तमान देखाए
नाना अडकलबाजी भयो
तर हत्केला मौन थियो

औंला औंलाको
भूमरी-चक्रहरुमा
शंखनाद गुञ्जन्थ्यौ
त्यहाँ अदृश्य,भूतहरु नाच्दथे
कहालीलाग्दो दृश्यहरु देखिन्थे
त्यहीँ रङ्गीन सपनाहरु
मुसुकुराउदै आउथे, अनि
ठेला उठाउथे
पसिना बगाउथे

जिन्दगीको बहाव बोकी
कर्मका नदीहरु
कहिले यता
कहिले उता
कोहि यता
कोहि उता बगिरह्न्थ्यो
केवल हत्केला भरि अटाएको
सारा संसार थियो

त्यसैले सुन
यस कथाको पात्र
सबै कथाको पात्र हुन
यस कथाको कहानी
सबै कथाको कहानी हुन
त्यसैले
यो एउटै सुने पुग्छ
एउटै बुझे पुग्छ।

Sunday, December 27, 2009

गाढा प्रेम

हर रात तिमिलाई
सपनीमा खोज्छु
चिरिच्याट्ट छाँटिएको
तिम्रो मस्त बदन देख्दै
म लट्ठिन्छु, अनि
उत्तेजित हृदयको
रक्तप्रवाहको बेगसँगै
तिम्रो जिन्दगीलाई
अङ्गालोमा बाँधेर
सुमसुमाउछु तिम्रो
सुनौलो बर्तमानहरु
मेरो मनहरु सलबलाउछन
तिम्रो मुटुको धडकनहरुमा
अनि,
मेरो प्रेम अझै गाढा भएको हुन्छ
म अलि छाडा भएको हुन्छु
तिमि सागर भै गहिरिएको बेला
म डाँडा भै ठडेको हुन्छु
तिमि फूल भै फक्रेको बेला
म काँडा भै गढेको हुन्छु
अनि तिम्रो श्वास बढेको बेला
मेरो दिल मद-मस्त लडेको हुन्छ
स्खलित मेरो सपना, जब
झसङ्ग भै ब्युझन्छ
तिमि टाढा भएको हुन्छौ
अनि मेरो प्रेम अझै
गाढा भएको हुन्छ।

~महाकाल,2007

Saturday, November 21, 2009

समय

निमेष पल र क्षणहरु
भर्खरै बिते
कैयौ घण्टाघरहरु
ठहरिए ढले
अरबौ घडीहरु
बने बाँधिए र फुटे
अनेकौ पात्रोहरु
छापिए झुडिए र च्यातिए
तर समय!

परिस्थितीहरु परिवर्तन साथै
प्रहर प्रहरमा बदलिए
कैयौ तिथीहरु लेखिए
मितीहरु तोकिए
लगनहरु फुरे
साईतहरु जुरे
ग्रहहरू साटिए
दशाहरु काटिए
तर समय!

यँहा सेकेण्ड मिनेट घण्टा
प्रहर दिन सप्ताह
महिना बर्ष सताब्दी
सहस्राब्दी अनि युगौं बिते
तर समय!

अजर अमर
अचल अटल मुहुर्त
आज अहिले तत्काल
यसै बेला यती खेरै
यथावत
ठीक यही समय!

~Monolith,2004

किराँती

राती राती माती हिड्ने
को हो त्यो, भन्दा किराँती
नमातीकन नहुने जाती
हो कस्तो, यो किराँती

दिउँसो न राती
माती माती रहने जाती
ढ्याङ्रो न मुन्धुम
धूपवाती फूल्पाती
शबमाथि जाँडकै थाती
टन्न पिई मस्त जिई
साथी-साथी बाजे नाती
अहो! यस्तो यो किराँती

आफ्नै छाति देखाउदै च्याती
जङमा अघि थाप्ने घाँटी
कस्तो वीर आँटी किराँति

प्रकृति माथि भरोषा राखी
उधओलि र उभौलिहरुमा
पछार्दै बाघ,भालु र हाती
भलि भाती ठोक्दै लाती
यो हो, अद् भुत किराँती

~march,2009

मृत्यु!

मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले बसेको
जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
भुसुक्क निदाउदाको अवस्था
सृस्टिको मनोरम दशाहरुमा
मदहोस भै फसेर
आवश्यक्ताको कमारो र
अभिलाषाको दासत्वको
मजबुत साङ्गलोबाट
छुट्कार दिन प्रकितिको
ममतामयी हातबाट
प्रेमपुर्ण चडकन्
समयको लय र तालमा
अलौकिक बिधुतिय
अस्तित्वको आडले
नृत्यरत
एक् घडी
थकित भै
आफैमा चकित पर्ने
अचम्मको बिश्रान्ति
डर त्रास र भयको
एउटा खुल्दुली
अनि आजन्म बिछोडिएकि
प्रेयसीसँगको
अपरिहार्य मिलन

~monolitH,2004

हारेको हार

पल-पल मा टुक्रीन्छन
यि प्यारहरु
भ्यलेन्टाइनका ति
अमर उपहारहरु
अमुल्य! आफ्नै प्रित पनि
ठिहिर्याउने तुसारो शीत भो
जितेका जीत भन्दा
हारेको हार वहार भो

~mahakaal,2007

मेरो अस्तित्व!

तिम्रो यादमा
अवसादमा
बर्वादमा,आवादमा
मनमा चलेका
तर्क-वितर्कमा
सतर्क हुन नसकेर
कुतर्कले
नर्कको बासमा परेर
मुक्तिको प्यासमा
वित्ता-वित्तामा नाप्न नसिकिने
कविताहरुको
धारा-प्रवाहको संहितामा
बग्ने चाहानाले
आएका बाहानामा
गन्तब्य अबरुद्द गर्ने
मन्तब्यले
धमिलिएको भवितब्य
रुमलिएको अभब्य स्वप्न महलका
चहल-पहलका
रहल-पहल स्मृतिमा
जकडिएको
मेरो अस्तित्व!

~mahakaala,2004

मृत्युको तमाशा

म हरेक रातसँगै मर्छु
अनि,बिहानिसँगै जन्मन्छु
तर,प्रत्येक दिनहरु पनि
मृत्युतुल्य छन
बरु ति रातहरु
जिवन झै लाग्छ
केवल सपनिमा
त्यसै मात्र भैदिए पनि
म दिनभर निधाउथे
तर सपनाहरु पनि
खेदो गर्छन
मेरो निरीह खुशीहरुको
फेरि मनको
दन्किरहेको आगोमा
तिम्रो यादहरुको
मिठो घिऊ थपिन्छ
यो सदाबहार नर्कमा
आदिकाल देखि नै तड्पिरहेछु
अबिनाशी यि अमर मनहरु सँगै
पल पल मरिरहेछु
हर क्षण आफ्नै मृत्युको
तमाशा हेरिरहेछु

~monolith,2005

Thursday, November 12, 2009

छिमेकी लाई कोसेली

मिचेर लैजाऊ थिचेर लैजाऊ
या लैजाऊ घिचेर
छलेर लैजाऊ, खोसेर लैजाऊ
या लैजाऊ पोषेर
झुक्याएर,फकाएर लैजाऊ बहकाएर
जसरी लैजाऊ
यो भिक्षा-दान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई

डढेको कालो आँखा
तिम्रो गढेको
बढेको माथा यो चढेको
उच्च तुच्छ सर्वोच्च ठडेको
लैजाऊ उपहार ठिङरिङै लडेको
चिसो अभिमन स-सम्मान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई

लैजाऊ थारी गौतमकि आमा
नपुंसक भए बाहरु
देखाऊ पुरुषार्थ
जन्माऊ सिद्दार्थ
लैजाऊ तिम्रै भो कुत्सित शान
होस् कल्याण तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई

पशुहरु यहाँ पूजिने भए
दाईजो भो पशुपति
सेवा खातिरै उत्पति
लैजाऊ सिपाही र चेलीको
यौवन जिऊ-ज्यान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई

मुटु कठांग्रीएर यहाँ रगत बफिंदा
तड्पियौ मोह्-प्यसले
छ्ट्पटियौ डाह्-ईर्ष्याले
भतभती पोलिएर
सल्कियौ द्वेष्ले
लैजाऊ निभाऊ प्यास बुझाऊ
कोशी कालीको मुहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई

डांडा पाखा,गाँऊ शहर
बिरानो श्मसान भो
फरक के नै भो
नामको यो,लैजाऊ
बनाउ सजाऊ या
मेटाऊ छ फीट्को
शितल चिहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई

~mahakaal,2002

मुटु बिक्रीमा छ

पवित्र तपोभूमी
सर्वोच्च सगरमाथामा बनेको
अति स्वच्छ र सुन्दर
मुटु बिक्रीमा छ

गास बास कपास
श्वास र बिश्वासको
अति खाँचो परेकोले
उत्कृष्ट कण्डिसनको
मुटु बिक्रीमा छ

वीर-बहदुर-गोर्खालीको
कोमल-कठोर
जे चिताए त्यहि हुने
मर्मस्पर्शी-चिन्तामणी
मुटु बिक्रीमा छ

एच.आई.भी. रहे
पाटैइटिसबाट सुरक्षित
रक्तचाप-डाईविटिजप्रूफ्
अति सस्तो दाममा
मुटु बिक्रीमा छ

योग-प्राणायमले
स्वस्थमन्तर-जन्तरले
बलिस्ठधुम्रपान-रक्सिरहीत
सयबर्ष वारन्टीसहित
मुटु बिक्रीमा छ

~mahakaal,2008

ढुकुरको कथा

एकादेशमा
मधुमसमा
हृदयमा उर्लिएका
मनमा कुर्लिएका
बथानका बथान ढुकुरहरु
मध्य एकको
विरहमा पोखिएको कथा
नबुझेर
बिस्मातले न्याश्रीएको बेला
अचानक!
बाजको हमला
खप्न नसकेर
रगत्ताम्य भै
छटपटिदै भूंईमा
खल्बलिएको सपना
नेत्र धमिलिएर
दृश्य विलाई
कथा टुङ्गिन्छ!

~महाँकाल,2002

पुष्प बाँण

ति जँगली लहरा झैं
बेफिक्रीले बटारिएर
लठारिने हाउ-भाउमा
फक्रीएका यि फूलहरु!

उन्मादले चटारिएकी
कोरलीको भवभङ्गीमा
बाटो-घाटोमा निष्फिक्रीले
घुमाउछन बक्र-दृष्टीहरु!

कुरुक्षेत्रभन्दा धेरै टाढा
नि:शस्त्र हिड्दा पनि
कवचविहीन कोमल मनमा
छोड्छन पूष्प-बाणहरु!

~MahakaaL,2005

के पूजाको जरुरी छैन!?

खोलापारी
मन्दिरमा
देउता छन
पूजारी पनि छन
फूल,धूप,दीप र
अक्षता पनि छ
श्रद्दा छ
भक्ति छ
आस्था पनि छ
केवल पूजा छैन
त्यसैले के
पूजाको जरुरी छैन!?

~mahakaal,2007

उपहास!

होशमै गुमाएको बेहोसिहरु
बेहोसमा पाएको होसहरु
अनि मदहोस जोश र
ब्यर्थका अफसोसहरु

क्रीडामा आएका पिडाहरु
पिडामा हराएका क्रीडामा
अनि पिडाले ल्याएका
उत्पिडाहरु

आशामा पलाएका भरोषाहरु
भरोषामा मुर्झाएका आशाहरु
अबोध अभिलासा र
ब्यर्थका निराशाहरु

व्यथामा पोखिएका कथाहरु
कथामा जोखिएका व्यथाहरु
निशेष खुशी अनि
शेष ज्यथाहरु

साहसले जन्माएका दुस्साहसहरु
दुस्साहस् ले अन्माएका साहसहरु
खिसी,अट्टहास
अनि उपहासहरु

~monolith,2002

Tuesday, November 10, 2009

कार्तिके युग

कार्तिक मासको

सदावहार युगमा

पुच्छर् हल्लाउँदै

क्याटवल्क हाउ-भाऊमा

'हट-स्प्रे' मगमगाउदै

सडक बिच र छेउ-छाऊमा

डुलिरहेछन

चार पाऊमा

लेघ्रो तान्दै,लोक तालमा

सुसेल्दै झ्याउरे चालमा

हात हल्लाउदै खुट्टा उफार्दै

हिप्-हप् र र्‍यापमा

ग्रन्ज,पंक र रकसँगै

झ्याउ-झ्याऊमा

लखर लखर,भर्खर

मात चढेकाहरु र

दाँत झरेकाहरु पनि

सुँघ्दै-सुँघ्दै गन्धहरु

र्‍याल चुहाँउदै

ङ्यार-ङ्यार ङुर-ङुर गर्दै

भित्ता र खम्बारुमा

ठाँउ-बेठाँऊमा

तिरिक्क! पार्दै, तिन पाउमा

पार्क,चौतारी र चौबाटोहरुमा

ठाँउ-कुठाँऊमा

भव तर्दै,चड्दै नाउमा

ब्यस्त छन

मस्त छन

डुङ्गा खिँयाऊन

धुम मचाऊन

यो कार्तिके युगमा

एल्. सि.,बुलडग र भुस्याहरु

लडिरहेछन,जुँधिरहेछन

पुच्छर गसाँऊन

छाउरा-छाउरामा

छाउरी-छाउरीमा

माउ-माऊमा

टोल-बजार, गाँऊ-गाँऊमा

कुँकिरहेछन,चुँकिरहेछन

एक-आपसको

भुकि-भुकाउमा

टोकि-टोकाउमा।।

~महाकाल, nov.2009

Wednesday, November 4, 2009

काली तिमी

सदा स्वच्छ सुन्दर्
शान्त र शितल
हिमालकी लहरी
काली तिमी

भाग्यले या दुर्भाग्यले
सेती झैं गहिरिदै
छाल र हन्डरहरु
संहाली तिमी

हजारौं ढलहरुको
दुर्गन्धलाई पनि
आफ्नो न्यानो मायाले
पखाली तिमी

समयको यो
घोर फोहोरहरुमा
विशुद्द चोखी
नेपाली तिमी

अनि मेरो मनमा
जिवनमा,सदा अटल
परम पवित्र
काली तिमी

~mahakaal

अकाल-चक्र

जीवन!
एउटा ठेट परिकल्पना
स्वप्न-बिहिन
मस्त निन्द्राको अकल्पनिय
असिम संसारमा
बेअर्थले बेमतलब
निरन्तर घुमिरहेको
अकाल-चक्र!
एउटा ब्यासको
सिमित परिधिभित्र
जकडिएको
चिडियाघरको पशु-पंक्षिहरुको
सोच-बिचार र अनुभवबाट
टुङिएको निस्कर्ष!
एउटा अज्ञात
रहस्यमयी
अपूर्व घटना पश्चात
बसेको नशा बानी
लत आदत र संस्कारले
दिन र रात
बादल र झरी
अनि
घन्टी र खानाको
नियम मान्यता!
मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले
बसेको जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
झल्यास्स!,
ब्युँझदाको समय
...अकाल-चक्र!

~Monolith,2004

उसरी नै

जसरी म
बाटो बिराएर
आफ्नै गल्लीको
टोल-आँगन वरिपरी
भौतारिरहन्छु
खैँ के-के हराए झैँ
आफ्नै निवासहरु
के-के खोजिरहे झैँ
तिम्रो आभासहरु
बिर्सिएर स्मृतिका
हरेक सासहरु
भुलेर गोरेटोहरुमा
अघी अघी लम्किदा
बिगत नै भेटिन्छन
फेरि उसरी नै


~2009

'म'हरु

'म'हरु
नितान्त एक्लो 'म'हरु
एकान्तका भींड र
आफूभित्रका भेलाहरु
बिकेन्द्रीत अनि
अशान्त 'म'हरु
शुन्य एक्लो आकशमा
ताराहरु झैँ
चम्किन खोज्दै अहंकारमा
सितारको झंकारमा
कम्पित ध्वनि तरङ्गको
लयमा विलय हुन नसकेका
कुलिन शुन्यताको
शालिन रिक्ततामा
विलिन नभएका 'म'हरु
एउटै बोट्का पातहरु
फूलहरु,फलहरु झैं
भिन्न भिन्न भै
एउटै काँचका टुक्राहरु झैं
फुटेर
एउटै वायुका श्वासहरु,
अनि एकै श्वासका वायुहरु झैं
छिन्न-विन्न भै
केन्द्रीत हुन नसकेका 'म'हरु
आकाश गंगामा,उल्काहरु झैं
तारापुन्जका झुल्काहरु झैं
बिमोहित भएर
तिरोहित हुन नसकेका
अस्त ब्यस्त अमस्त
पीरहरुको अस्थिर शिर
संहालेर स्थिर हुन नसकेका 'म'हरु
वैभवका उदभवहरुमा
सदभव राख्न नसकेर
बिद्रोहमा उग्र भै ब्यग्र भएका
इत्तर कट्टरहरु
मत्थर भै
तित्तर-वित्तर हुन नसकेर
फेरि
युद्दमा क्रुद्द
विलकुल शुध्द
विशुध्द अशुध्द 'म'हरु

~ monolitH,2003

Friday, October 9, 2009

भूलेर तिमिलाई सम्झदा


बिर्सिएर तिम्रो यादमा
आँशु बगाउदा
काँडाहरु दुख्छन् मेरा
गूलाफ बिझाउदा

संसारहरु थाकेर
साँझ घाम अस्ताउदा
चुपचाप झर्छन् आँशुहरु
झझल्कोले सताउदा

रातहरु छिप्पिएर
आँखा भरि निदाउदा
सपना बनि झस्किन्छन् याद
अँध्यारोमा छोपिदा

झिसमिसेमै मिठो तिम्रो
यादहरुले बिउँझाउदा
घाऊहरु बल्झिन्छन फेरि
भूलेर तिमिलाई सम्झदा

बिर्सिएर तिम्रो यादमा
आँशु बगाउदा
काँडाहरु दुख्छन् मेरा
गूलाफ बिझाउदा

~monolith,2002