Monday, December 28, 2009

हत्केलाको कथा

सुन!
आज म एउटा कथा भन्छु,
एकादेशमा
भाग्यको रेखापारि
एउटा हत्केला थियो,
त्यहि हत्केला हेरि हेरि
धेरै आँखाहरुले भविष्य बताए
कंयौले भूत कथे
कतिले वर्तमान देखाए
नाना अडकलबाजी भयो
तर हत्केला मौन थियो

औंला औंलाको
भूमरी-चक्रहरुमा
शंखनाद गुञ्जन्थ्यौ
त्यहाँ अदृश्य,भूतहरु नाच्दथे
कहालीलाग्दो दृश्यहरु देखिन्थे
त्यहीँ रङ्गीन सपनाहरु
मुसुकुराउदै आउथे, अनि
ठेला उठाउथे
पसिना बगाउथे

जिन्दगीको बहाव बोकी
कर्मका नदीहरु
कहिले यता
कहिले उता
कोहि यता
कोहि उता बगिरह्न्थ्यो
केवल हत्केला भरि अटाएको
सारा संसार थियो

त्यसैले सुन
यस कथाको पात्र
सबै कथाको पात्र हुन
यस कथाको कहानी
सबै कथाको कहानी हुन
त्यसैले
यो एउटै सुने पुग्छ
एउटै बुझे पुग्छ।

Sunday, December 27, 2009

गाढा प्रेम

हर रात तिमिलाई
सपनीमा खोज्छु
चिरिच्याट्ट छाँटिएको
तिम्रो मस्त बदन देख्दै
म लट्ठिन्छु, अनि
उत्तेजित हृदयको
रक्तप्रवाहको बेगसँगै
तिम्रो जिन्दगीलाई
अङ्गालोमा बाँधेर
सुमसुमाउछु तिम्रो
सुनौलो बर्तमानहरु
मेरो मनहरु सलबलाउछन
तिम्रो मुटुको धडकनहरुमा
अनि,
मेरो प्रेम अझै गाढा भएको हुन्छ
म अलि छाडा भएको हुन्छु
तिमि सागर भै गहिरिएको बेला
म डाँडा भै ठडेको हुन्छु
तिमि फूल भै फक्रेको बेला
म काँडा भै गढेको हुन्छु
अनि तिम्रो श्वास बढेको बेला
मेरो दिल मद-मस्त लडेको हुन्छ
स्खलित मेरो सपना, जब
झसङ्ग भै ब्युझन्छ
तिमि टाढा भएको हुन्छौ
अनि मेरो प्रेम अझै
गाढा भएको हुन्छ।

~महाकाल,2007