Monday, December 28, 2009

हत्केलाको कथा

सुन!
आज म एउटा कथा भन्छु,
एकादेशमा
भाग्यको रेखापारि
एउटा हत्केला थियो,
त्यहि हत्केला हेरि हेरि
धेरै आँखाहरुले भविष्य बताए
कंयौले भूत कथे
कतिले वर्तमान देखाए
नाना अडकलबाजी भयो
तर हत्केला मौन थियो

औंला औंलाको
भूमरी-चक्रहरुमा
शंखनाद गुञ्जन्थ्यौ
त्यहाँ अदृश्य,भूतहरु नाच्दथे
कहालीलाग्दो दृश्यहरु देखिन्थे
त्यहीँ रङ्गीन सपनाहरु
मुसुकुराउदै आउथे, अनि
ठेला उठाउथे
पसिना बगाउथे

जिन्दगीको बहाव बोकी
कर्मका नदीहरु
कहिले यता
कहिले उता
कोहि यता
कोहि उता बगिरह्न्थ्यो
केवल हत्केला भरि अटाएको
सारा संसार थियो

त्यसैले सुन
यस कथाको पात्र
सबै कथाको पात्र हुन
यस कथाको कहानी
सबै कथाको कहानी हुन
त्यसैले
यो एउटै सुने पुग्छ
एउटै बुझे पुग्छ।

Sunday, December 27, 2009

गाढा प्रेम

हर रात तिमिलाई
सपनीमा खोज्छु
चिरिच्याट्ट छाँटिएको
तिम्रो मस्त बदन देख्दै
म लट्ठिन्छु, अनि
उत्तेजित हृदयको
रक्तप्रवाहको बेगसँगै
तिम्रो जिन्दगीलाई
अङ्गालोमा बाँधेर
सुमसुमाउछु तिम्रो
सुनौलो बर्तमानहरु
मेरो मनहरु सलबलाउछन
तिम्रो मुटुको धडकनहरुमा
अनि,
मेरो प्रेम अझै गाढा भएको हुन्छ
म अलि छाडा भएको हुन्छु
तिमि सागर भै गहिरिएको बेला
म डाँडा भै ठडेको हुन्छु
तिमि फूल भै फक्रेको बेला
म काँडा भै गढेको हुन्छु
अनि तिम्रो श्वास बढेको बेला
मेरो दिल मद-मस्त लडेको हुन्छ
स्खलित मेरो सपना, जब
झसङ्ग भै ब्युझन्छ
तिमि टाढा भएको हुन्छौ
अनि मेरो प्रेम अझै
गाढा भएको हुन्छ।

~महाकाल,2007

Saturday, November 21, 2009

समय

निमेष पल र क्षणहरु
भर्खरै बिते
कैयौ घण्टाघरहरु
ठहरिए ढले
अरबौ घडीहरु
बने बाँधिए र फुटे
अनेकौ पात्रोहरु
छापिए झुडिए र च्यातिए
तर समय!

परिस्थितीहरु परिवर्तन साथै
प्रहर प्रहरमा बदलिए
कैयौ तिथीहरु लेखिए
मितीहरु तोकिए
लगनहरु फुरे
साईतहरु जुरे
ग्रहहरू साटिए
दशाहरु काटिए
तर समय!

यँहा सेकेण्ड मिनेट घण्टा
प्रहर दिन सप्ताह
महिना बर्ष सताब्दी
सहस्राब्दी अनि युगौं बिते
तर समय!

अजर अमर
अचल अटल मुहुर्त
आज अहिले तत्काल
यसै बेला यती खेरै
यथावत
ठीक यही समय!

~Monolith,2004

किराँती

राती राती माती हिड्ने
को हो त्यो, भन्दा किराँती
नमातीकन नहुने जाती
हो कस्तो, यो किराँती

दिउँसो न राती
माती माती रहने जाती
ढ्याङ्रो न मुन्धुम
धूपवाती फूल्पाती
शबमाथि जाँडकै थाती
टन्न पिई मस्त जिई
साथी-साथी बाजे नाती
अहो! यस्तो यो किराँती

आफ्नै छाति देखाउदै च्याती
जङमा अघि थाप्ने घाँटी
कस्तो वीर आँटी किराँति

प्रकृति माथि भरोषा राखी
उधओलि र उभौलिहरुमा
पछार्दै बाघ,भालु र हाती
भलि भाती ठोक्दै लाती
यो हो, अद् भुत किराँती

~march,2009

मृत्यु!

मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले बसेको
जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
भुसुक्क निदाउदाको अवस्था
सृस्टिको मनोरम दशाहरुमा
मदहोस भै फसेर
आवश्यक्ताको कमारो र
अभिलाषाको दासत्वको
मजबुत साङ्गलोबाट
छुट्कार दिन प्रकितिको
ममतामयी हातबाट
प्रेमपुर्ण चडकन्
समयको लय र तालमा
अलौकिक बिधुतिय
अस्तित्वको आडले
नृत्यरत
एक् घडी
थकित भै
आफैमा चकित पर्ने
अचम्मको बिश्रान्ति
डर त्रास र भयको
एउटा खुल्दुली
अनि आजन्म बिछोडिएकि
प्रेयसीसँगको
अपरिहार्य मिलन

~monolitH,2004

हारेको हार

पल-पल मा टुक्रीन्छन
यि प्यारहरु
भ्यलेन्टाइनका ति
अमर उपहारहरु
अमुल्य! आफ्नै प्रित पनि
ठिहिर्याउने तुसारो शीत भो
जितेका जीत भन्दा
हारेको हार वहार भो

~mahakaal,2007

मेरो अस्तित्व!

तिम्रो यादमा
अवसादमा
बर्वादमा,आवादमा
मनमा चलेका
तर्क-वितर्कमा
सतर्क हुन नसकेर
कुतर्कले
नर्कको बासमा परेर
मुक्तिको प्यासमा
वित्ता-वित्तामा नाप्न नसिकिने
कविताहरुको
धारा-प्रवाहको संहितामा
बग्ने चाहानाले
आएका बाहानामा
गन्तब्य अबरुद्द गर्ने
मन्तब्यले
धमिलिएको भवितब्य
रुमलिएको अभब्य स्वप्न महलका
चहल-पहलका
रहल-पहल स्मृतिमा
जकडिएको
मेरो अस्तित्व!

~mahakaala,2004