Monday, December 28, 2009

हत्केलाको कथा

सुन!
आज म एउटा कथा भन्छु,
एकादेशमा
भाग्यको रेखापारि
एउटा हत्केला थियो,
त्यहि हत्केला हेरि हेरि
धेरै आँखाहरुले भविष्य बताए
कंयौले भूत कथे
कतिले वर्तमान देखाए
नाना अडकलबाजी भयो
तर हत्केला मौन थियो

औंला औंलाको
भूमरी-चक्रहरुमा
शंखनाद गुञ्जन्थ्यौ
त्यहाँ अदृश्य,भूतहरु नाच्दथे
कहालीलाग्दो दृश्यहरु देखिन्थे
त्यहीँ रङ्गीन सपनाहरु
मुसुकुराउदै आउथे, अनि
ठेला उठाउथे
पसिना बगाउथे

जिन्दगीको बहाव बोकी
कर्मका नदीहरु
कहिले यता
कहिले उता
कोहि यता
कोहि उता बगिरह्न्थ्यो
केवल हत्केला भरि अटाएको
सारा संसार थियो

त्यसैले सुन
यस कथाको पात्र
सबै कथाको पात्र हुन
यस कथाको कहानी
सबै कथाको कहानी हुन
त्यसैले
यो एउटै सुने पुग्छ
एउटै बुझे पुग्छ।

No comments:

Post a Comment