Saturday, November 21, 2009

समय

निमेष पल र क्षणहरु
भर्खरै बिते
कैयौ घण्टाघरहरु
ठहरिए ढले
अरबौ घडीहरु
बने बाँधिए र फुटे
अनेकौ पात्रोहरु
छापिए झुडिए र च्यातिए
तर समय!

परिस्थितीहरु परिवर्तन साथै
प्रहर प्रहरमा बदलिए
कैयौ तिथीहरु लेखिए
मितीहरु तोकिए
लगनहरु फुरे
साईतहरु जुरे
ग्रहहरू साटिए
दशाहरु काटिए
तर समय!

यँहा सेकेण्ड मिनेट घण्टा
प्रहर दिन सप्ताह
महिना बर्ष सताब्दी
सहस्राब्दी अनि युगौं बिते
तर समय!

अजर अमर
अचल अटल मुहुर्त
आज अहिले तत्काल
यसै बेला यती खेरै
यथावत
ठीक यही समय!

~Monolith,2004

No comments:

Post a Comment